आज माघे संक्रान्ति,थारु समुदायले ‘माघी’ पर्वका रुपमा मनाउदै

आज माघे संक्रान्ति पर्व । मुलुकभर नदी, दोभान तथा त्रिवेणीहरुमा स्नान र मन्दिरमा पूजापाठ गर्नुका साथै रमाइलो गरी मनाईदैछ ।
ज्योतिष शास्त्रअनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी दक्षिणायबाट उत्तरायण हुने हुनाले यस पर्वलाई ‘मकर संक्रान्ति’ पनि भन्ने गरिन्छ ।
आजदेखि दिन लामो हुने र रात छोटो हुदै जाने विश्वास छ । यस पर्वमा प्रसिद्ध देवघाट, बराहश्रेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई, भारतका प्रयाग र गंगासागरलगायतका नदी तथा त्रिवेणीमा मकर स्नान, दान, श्राद्धलगायतका कार्य गर्नेको ठूलो भीड लाग्ने गर्छ । थारु समुदायले भने यो पर्वलाई ‘माघी’ पर्वका रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । आजको दिन थारु समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी खाने चलन छ ।
२०५७ साउन १ गते कमैया मुक्ति हुनुअघि माघ १ गतेका दिन मालिकका घरमा काम गर्न बसेकालाई घर फेर्न दिने चलन थियो । यसैले थारु समुदायमा यस पर्वलाई उन्मुक्तिको पर्व रुपमा चिनिन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँने गरिन्छ । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गर्छन् ।
यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाहरुले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता पनि यस समुदायमा रहि आएको छ ।
तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारु समुदायमा पनि छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत समेत छ ।
गाउँका मुखिया, महतो, गुरुबा, पूजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने, आदि सबैले माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि अगुवा छनोट गर्छन् । थारु जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई ‘माघी देवानी’ भनिन्छ ।
नेपालमा लोकतान्त्रिक शासन व्यवस्थाको प्रारम्भ हुनु अघिदेखि नै थारु समुदायमा माघ १ गते अगुवा चुन्ने प्रचलन थियो । २० वर्षसम्म स्थानीय निर्वाचन नहुँदा पनि थारु बाहुल्य भएका ठाउँ जनप्रतिनिधिविहीन नभएको अध्येता सर्वहारीले बताए । थारु समुदायले वर्षभरी गरेका कामको समीक्षा आजैका दिन गर्छन् ।
विशेष गरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई तराई क्षेत्रमा खिचडी भन्ने चलन पनि छ । थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् ।
विवाह, यात्रा, बसाइँसराइँका लागि माघीका समयमा साइत हेर्न नपर्ने विश्वास पनि थारु समुदायमा छ ।






