मनिटरिङ कमिटी गठन गर्न आईसीसीको प्रस्ताव

काठमाडौ/नेपाली क्रिकेटको विवाद समाधानका लागि मनिटरिङ कमिटी गठन गर्न आईसीसीले प्रस्ताव गरेको छ ।
सरोकारवाला पक्षहरुसँग छलफल गर्न काठमाडौं आएको आईसीसीको टोलीले ५ सदस्यीय मनिटरिङ कमिटी गठन गर्ने प्रस्ताव गरेको हो । आईसीसीका कार्यवाहक प्रमुख ईमरान ख्वाजा, डेभलपमेन्ट अफिसर विलियम ग्लेनराईट र अमर शेखको टोलीले गरेको प्रस्ताव अनुसार ५ सदस्यीय मनिटरिङ कमिटीमा आईसीसीका तर्फबाट तीन जना सदस्य रहनेछन् । यसैगरी निर्वाचित नेपाल क्रिकेट संघ क्यानको तर्फबाट एक तथा राष्ट्रिय खेलकुद परिषद राखेपको तर्फबाट एक जना सदस्य रहनेछन् । उक्त कमिटीलाई चतुरबहादुर चन्द नेतृत्वको निर्वाचित क्यानले अनुमोदन गर्नुपर्नेछ । मनिटरिङ कमिटीले क्यानको नयाँ विधान अनुसार जिल्ला, क्षेत्र हुँदै केन्द्रसम्मको चुनाव गराउने जिम्मेवारी पाउनेछ । निर्वाचित क्यानले यसअघि आईसीसीद्वारा स्विकृत विधान आफूखुशी संशोधन गरी सम्पन्न गराएको जिल्ला निर्वाचन भने स्वतः खारेज हुनेछ ।






