राष्ट्रियसभामा प्रदेश १ बाट खुल्लासमूह तर्फ तीन जना निर्विरोध

विराटनगर/ राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ बाट खुल्लासमूह तर्फ पनि तीन जना निर्विरोध निर्वाचित भएका छन ।
खुल्ला तर्फको ३ जनाको सिटमा एमालेका तर्फबाट पर्शुराममेघी गुरुङ , हरिचरण शिवाकोटी , खड्गबहादुर वस्नेत र नेपाली काँग्रेसबाट तर्फबाट रमेशजंग रायामाझीको उम्मेदवारी परेको थियो । जसमा एमालेका खडगबहादुर बस्नेतले फिर्ता लिएपछि खुल्लातर्फका तिनैजना र्निविरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नवराज दुलालले बताउनुभयो । अब अपांगता तथा अल्पसंख्यक र दलित समूहबाट २ जनाका लागि मात्र मतदान हुनेछ । यही माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश नंम्वर १ बाट १२ जनाको उम्मेदवारी परेको थियो । ८ वटा सिटका लागि बाम गठबन्धनका तर्फबाट ७, नेपाली काँग्रेस ४ र राप्रपाबाट १ जनाको उम्मेदवारी परेको थियो । यस्तै अपांगता तथा अल्पसंख्यक १ सिट कोटाका लागि ३ जनाको उम्मेदवारी परेकोमा राप्रपाबाट अनुपमादेवी साहले फिर्ता लिएको दुलालले जानकारी दिनुभयो । अल्पसंख्यक तथा अपांगता कोटामा अब एमालेबाट अगमप्रसाद वान्तवा र नेपाली कांग्रेसबाट महेश जाजुका बीच प्रतिस्पर्धा हुने भएको छ भने दलिततर्फको १ जनाको सिटमा २ जनाको उम्मेदवारी परेको छ । एमालेबाट खेम नेपाली र नेपाली कांग्रेसका तर्फबाट विन विश्वकर्मा बीच चुनाव हुने भएको छ । यसअघि नै महिलातर्फ एमालेकी नैनकला ओझा , नेपाली काँग्रेसका तर्फबाट कृषि राज्यमन्त्री सरिता प्रसाई र नेकपा माओवादी केन्द्रकी विना पोखरेल र्निविरोध भैसक्नु भएको छ । प्रदेश नम्बर १ मा खुल्ला ३, महिला ३, दलित १ र अपाङ्ग तथा अल्पसङख्यकमा १ गरी ८ जना चुनिनेछन् । मतदानका लागि ९३ जनाप्रदेशसभा सदस्य र २ सय ७४ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी जम्मा ३ सय ६७ जना मतदाता रहेका छन ।






